सीमा नाकामै अड्किए हजार कन्टेनर

सहयात्रा टिभी

काठमाण्डौ । भारतीय सीमामा नेपालका लागि सामान लोड गरिएका हजार बढी कन्टेनर रोकिएका छन्  । कन्टेनरको आगमन व्यवस्थापन नगरिंदै यतिका धेरै कन्टेनर सीमा नाकामा अड्किएका हुन् ।

सीमा नाकामा धेरै दिनदेखि कन्टेनगर अवागमन अव्यवस्थित हुँदा पनि कोलकाता बन्दरगाह व्यवस्थापक, वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक र नेपाल सरकार पक्ष उदासीन छन् । कन्टेनर रोकिंदा आयातकर्ताले ठूलो अतिरिक्त शुल्क तिर्नुपर्छ । समयमा सामान ढुवानी नहुँदा व्यवसायीले विलम्ब शुल्कका नाममा समेत ठूलो रकम तिर्नुपर्छ । त्यसको असर सर्वसाधारणले महँगो मूल्यमार्फत चुकाउनुपर्छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् कन्टेनगर आयातकर्ता प्रदीप केडियाका अनुसार यसरी रोकिएका एउटा कन्टेनरबापत डेढ लाख रुपैयाँभन्दा बढीसम्म शुल्क तिर्नुपरेको छ ।

‘यसरी आयातमा बढेको खर्च व्यवसायीले आफ्नो खल्तीबाट तिर्ने त होइनन् । आयातमा लागेको खर्च सामानमा जोडिंदै उपभोक्ताले नै बढी पैसा खर्चिनु पर्छ’–केडियाले भने ।बन्दरगाहमा हुने अस्तव्यस्तता र सरकारी उदासीनताले वर्षेनी ढुवानीमा करीब ५ अर्ब रुपैयाँ अतिरिक्त खर्च गर्नु परिरहेको उनले बताए । दशैंयता नै कोलकाता बन्दरगाहमा यस्तो समस्या देखिएको हो । तेस्रो मुलुकसँगको कारोबारका लागि नेपाललाई भारतले कोलकाता र बिसाखापटनम बन्दरगाह उपलब्ध गराएको छ । बिसाखापटनम वीरगञ्जबाट टाढा र भर्खरै खुलेकाले आयातकर्ता कोलकातामै निर्भर छन् । नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनका पूर्व अध्यक्ष राजन शर्माका अनुसार सातामा करीब ६ सय कन्टेनर नेपालको सामान बोकेर कोलकाता आइपुग्छन् ।

तीमध्ये सातामा ३ सय मात्रै कोलकाताबाट वीरगञ्ज आइरहेका छन् । झण्डै आधा त्यहीं थन्किएका छन् । कोलकाताबाट वीरगञ्जसम्म ल्याई दिने जिम्मा भारतीय रेलवेअन्तर्गतको कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कर) को हो । नेपाल–भारत रेलवे सम्झौताअनुसार कन्कर बाहेक अरूले सामान ल्याउन पाउँदैनन् । कन्करले सातामा ३ पटक मात्र वीरगञ्ज ढुवानी गर्ने गरेको छ । कन्करको एकाधिकार भएकाले उसकै खटनपटनमा सामान नेपालतर्फ आउने गरेको छ । भारतले सञ्चालन गरेको यो पुरानो बन्दरगाहमा नेपालसहित भुटान र भारतको उत्तर पूर्वी क्षेत्रका सामान आइपुग्छन् ।

यहाँ ठूला जहाज आउन सक्दैनन् । मुख्यतया सिङ्गापुरबाट  साना जहाजमा सामान राखेर कोलकाता ल्याइन्छ । ठाउँ अभावमा कतिपय  जहाज समुन्द्रमै धेरै समय रोकिनुपरेको व्यवसायी बताउँछन् । बन्दरगाह सञ्चालक कोलकाता पोर्ट ट्रस्ट अफ इन्डिया र कन्करले नेपाली सामानलाई प्राथमिकता नदिएको व्यवसायीको गुनासो छ ।सिपिङ कम्पनीहरूले कोलकाताबाट वीरगञ्ज पुगेर उसको कन्टेनर बढीमा २१ दिनभित्र कोलकातामै फिर्ता गरिसक्नुपने प्रावधान राखेका छन् तर ती कम्पनीले समयमा ढुवानी नगर्दा विलम्ब शुल्क तिर्नुपरेको  हो ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्