तालमुनि ३ हजार वर्ष पूरानो महल !

टर्कीको सबैभन्दा ठूलो तालको पिंधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलामे युगको एक पुरातात्विक महल फेला परेको छ ।
टर्कीको सुदूर पूर्वको लेक भान नामक प्राकृतिक तालमा पुरातत्वविदहरुले हालै फलामे युगको महल फेला पारेका हुन् । स्थानीय बासिन्दाहरुले सयौं वर्षदेखि उक्त तालमुनि घरहरुको भग्नावशेष रहेको बताउँदै आएका थिए ।
सोही आधारमा शोधकर्ताहरुले उक्त तालमा गोताखोरहरुको सहयोगमा अनुसन्धान गरेका थिए । तालको पिंधमा झण्डै एक किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल १० देखि १३ फिटसम्म अग्लो रहेको शोधकर्ताहरुको भनाई छ ।
शोधकर्ताहरुले उक्त स्मारक ३ हजार वर्ष पूरानो युरार्सियन कालको भएको अनुमान गरिएको छ । फलामे युगको रुपमा रहेको युरार्सियन कालमा युरार्टु नाम राज्य थियो जुन अहिलेको टर्की, आर्मेनिया तथा इरानमा फैलिएको थियो । एजेन्सी