कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

सहयात्रा टिभी

कैलाली । कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ । आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (क) मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी १६ हजार १५५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत पाएका छन् । यस्तै प्रदेश सभा (ख) मा एमालेका कृष्ण सुवेदी १६ हजार २२ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हीरादत्त भट्टले ११ हजार ८०३ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गरेका छन् । विसं २०४६ को परिवर्तनयता भएका निर्वाचनमा विजयी हुँदै आएका कांग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ ।

प्रदेशसभातर्फ (ख) मा एमालेका अमरबहादुर साउद ११ हजार ८७७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मणबहादुर शाहीले सात हजार ४९२ मत पाएका छन् । प्रदेश सभा (क) को गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी मत गणनमा अगाडि रहेका छन् ।

यसअघि आइतबार नै कैलाली निर्वाचन क्षेत्र पाँचको प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा घोषणा भइसकेको छ । यो क्षेत्रमा एमालेका नारदमुनी राना विजयी हुँदा कांग्रेस नेत्री डा. आरजु राणा देउवा पराजित भएकी छन् । निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेको छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्