वाम गठबन्धन दुई तिहाई नजिक, प्रतिनिधिसभाका २१ क्षेत्रको परिणाम आउन बाँकी

सहयात्रा टिभी

काठमाण्डौं । हालसम्मको निर्वाचन परिणाम अनुसार वाम गठबन्धन दुई तिहाइ नजिक पुगेको छ । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको हो । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाइ लगभग पक्का भएको हो ।

पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेशकुमार गुप्ताको स्वतन्त्र मधेसी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नु पर्छ । एमालेले ७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम र काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।

त्यसैगरी संघीय समाजवादी फोरम ७ सिट जितेर चौथो स्थानमा रहेको छ । फोरमले २ ठाउँमा अग्रता लिइरहेको छ । महोत्तरी ४ मा सुरेन्द्र यादव र पर्सा ३ मा हरिनारायण रौनियारले अग्रा लिइरहेका छन् । राजपा नेपाल ७ स्थान जितेर पाँचौ भइरहँदा ३ ठाउँमा अग्रता लिइरहेको छ । राजपाका रेशलाल चौधरीले कैलाली १ र राकेश मिश्रले सर्लाही ४ मा अग्रता लिइरहेका छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् भने स्वतन्त्रबाट हुम्लामा माओवादीका पोलिटव्यूरो सदस्य छक्कवहादुर लामा बागी उम्मेद्वारका रुपमा बिजयी भएका छन् । नेपाल मजदूर किसान पार्टीले भक्तपुर १ मा अग्रता लिइरहेको छ ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् । २०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । उसले अहिलेसम्म १७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिइरहेको छ ।

यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिएको छ ।कांग्रेसका सीताराम मेहता सुनसरी २, प्रदिप गिरी सिरहा १ र देवेन्द्रराज कँडेलले नवलपरासी २ मा अग्रता लिइरहेका छन् । वाम गठबन्धनको अग्रताकै कारण पनि उसले दुई तिहाइ मत हासिल गर्ने आधार बलियो बनाएको छ ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्