चुनाव हारेपछि पनि फेरि गाउँमा
            सहयात्रा टिभी
		तेह«थुम । थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन् ।
चुनाव हारेपछि प्रदेशसभा (ख) क्षेत्रका नेपाली कांग्रेसका उम्मेद्वार विजय सम्बाहाम्फे पुनः गाउँ पसेका हुन् । सम्बाहाम्फेले मत परिणाम घोषणा भएकै दिनदेखि गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । प्रदेशसभा (ख) क्षेत्रमा जम्मा आठ राजनीतिक दलको उम्मेद्वारी थियो ।
कूल ३० हजार ५८८ मतदातामध्ये १९ हजार ९६३ मत खसेकोमा १० हजार ३०२ मत ल्याएर वाम गठबन्धनका लागि एमालेका उम्मेद्वार तेजमान कन्दङ्वा विजयी भए । कांग्रेस उम्मेद्वार सम्बाहाम्फे आठ हजार ४७ मत ल्याउँदै दुई हजार २५५ मतले पराजित भए । तर पराजित हुँदा उनी कति पनि दुःखी देखिएनन् । यस पटकको चुनावमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेद्वारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका सम्बाहाम्फे वाम–गठबन्धन भएपछि टिकट नपाएर कांग्रेस प्रवेश गरी प्रदेशसभा (ख) मा उम्मेद्वार बनेका थिए । त्यसो त उहाँका लागि कांग्रेस पनि नौलो पार्टी थिएन ।
२०६४ अघि नै कांग्रेसको जिल्ला कोषाध्यक्ष भइसकेका उनी पुनः कांग्रेसमै फर्किएर उम्मेद्वार भएका हुन् । हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसनको केन्द्रीय अध्यक्ष् ासमेत रहेका सम्बाहाम्फे चुनावमा आएको परिणामबाट आफू दुःखी नभएको बताउँछन् । ‘जनताको घरदैलोसम्म पुगेर अनुमोदित हुने मौका पाएँ’–उनले भने–‘चुनावमा जित्नु मात्र ठूलो कुरा होइन ।’
चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँ–गाउँ पुगिरहेका उनले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्ने प्रतिबद्धतासमेत जनाइरहेका छन् । ‘चुनाव त मैले हारेकै हुँ’–उनी भन्छन्–‘चुनाव हारे पनि म जनताको मन जित्न गाउँ आएको हुँ, चुनाव जित्नु मात्र ठूलो कुरा हैन, जनताको मन जित्नु चाँहि ठूलो कुरा हो ।’ सम्बाहाम्फेले आफ्नो क्षेत्रका मतदातालाई आफ्नो मत खेर गयो भनेर निरुत्साहित नहुन भनिरहका छन् ।


