वीरगञ्जको ग्याँस उद्योगमा आगलागी, दुईको मृत्यु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्याँस उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको जनाइएको छ । आगलागीपछि दुई जना सम्पर्कविहीन छन् ।
आगलागी नियन्त्रणमा खटिएको वीरगञ्ज महानगरपालिकाको एक दमकल समेत जलेको छ । दमकल जल्दा यसका फायरम्यान सविन नेपाल घाइते भएका छन् । उनलाई उपचारका लागि गण्डक अस्पतालमा लगिएको छ । दमकलमा रहेका हवल्दार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् ।
ग्याँस सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । शवको पहिचान भएको छैन । जोखिम बढेपछि नजिकको बस्ती खालै गराइँंदै छ । आगलागी फैलने जोखिम बढेपछि ग्याँस उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइँदै छ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करीब ५ सय मिटर दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । ग्याँस उद्योग नजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ । आसपासका बस्तीका मानिसहरू त्रसित छन् । आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
आगलागी नियन्त्रण बाहिर छ । ग्याँसका सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रकहरु समेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा २–३ सय मिटर परै छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो नियन्त्रणमा लिन सकिएको छैन । ग्याँस लिक भएर आगलागी भएको अनुमान गरिएको छ । ग्याँस लिक भएको खबर पाउना साथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रह्मनारायण जैसवालले बताएका छन् ।