केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काम गर्न परिवारसहित पश्चिमदेखि पूर्व

सहयात्रा टिभी

तेह«थुम । कञ्चनपुरको बेलौरी नगरपालिकाका–४ का ३६ वर्षे प्रेमकुमार चौधरी आफ्ना दुई जना भान्जासहित मजदुरीका लागि सुदूर पूर्वको तेह«थुममा छन् ।

डेढ महिनाअघि अलिअलि भएको बालीनाली थन्काएर चौधरी मजदुरीका लागि दोस्रो पटक यता आएका हुन् । उनी गत असारमा छ महिना यतै बसेर काम गरेर घर फर्किएका थिए । गाउँघरमा काम पाए पनि ज्याला कम हुने र कामको निरन्तरता पनि नहुने भएकाले घरमा श्रीमतीलाई एक्लै छाडेर पनि टाढासम्म आएर काम गरिरहेको उनले बताए । बेलौरी नगरपालिका–४ कै रामबहादुर चौधरीका दाजुभाइ पनि अहिले तेह«थुममै मजदुरी गरिरहेका छन् । उमेरमा २५ नकटेका यी दुई युवा घरमा भएका आमा, बुबा र बहिनीको समेत पेट पाल्न मजदुरी गर्छन् ।

‘गाउँमा खेती गरिखाने जमिन कम छ, मजदुरी गर्दा ज्याला पनि कम मात्रै पाइन्छ’– रामबहादुरले भने–‘त्यसैले दुई चार पैसा जोहो गर्न यता आएका हौं ।’ पढ्ने र भविष्य बनाउने उमेरका धेरै युवा पनि गरिबीका कारण मजदुरी गर्न बाध्य देखिए । कक्षा–११ को परीक्षा दिएर पढाइ पूरा गर्ने खर्च नहुँदा मजदुरी गर्न यहाँ आएका बेलौरी नगरपालिका–६ का अशोककुमार चौधरीले पढ्न मन भएको तर कमजोर आर्थिक अवस्थाले मजदुरी गर्नुपर्ने बाध्यता सिर्जना गरेको बताउँछन् । यिनीहरु जस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका मात्रै २० जना युवा अहिले मध्यपहाडी लोकमार्गको तेह«थुम खण्डअन्तर्गत ओयाक्जुङमा कार्यरत छन् । ती युवाको नेतृत्व प्रेमकुमार चौधरीले गरेका छन् ।

लोकमार्गमा काम गर्दा दैनिक ५०० देखि एक हजार २०० सम्म कमाइ हुने चौधरीले बताए । ‘मिस्त्रीको दैनिक एक हजार २०० सम्म हुन्छ, अरु हेल्पर र ढुङ्गाको काम गर्नेको ५०० देखि ७०० वा ९०० सम्म कमाइ हुन्छ’–उनले भने । यसरी दैनिक ज्यालाबाट मासिक २५ हजार देखि ४० हजारसम्म कमाइ हुने गरेको छ । उनीहरु सिकिस्त बिरामी पर्दा र चाडपर्व बाहेक अन्य समयमा घर पुग्दैनन् । छ महिनामा एक पटकसम्म घरमा पुगेर घर व्यवहार मिलाउने र फेरि मजदुरीमै फर्किने चलन रहेको प्रेमकुमारले बताए । उनीहरुले ठेकेदार कम्पनीबाट काम लिएर मेशिनरी, वाल, ग्याभियन भर्ने, नाली निर्माण गर्नेलगायत काम गरिरहेका छन् । आफूहरु मजदुरीकै लागि दर्जनौं जिल्ला पुगिसकेको उनीहरु बताउँछन् । परदेश जाँदा धेरै खर्च लाग्ने र परिवार साथीभाइभन्दा धेरै टाढा जानुपर्ने भएकाले स्वदेशमै काम गर्न आएको उनीहरु बताउँछन् । मध्यपहाडी लोकमार्गअन्तर्गत तेह«थुममा तमोर नदीको माझीटार दोभानदेखि म्याङलुङ सडकखण्ड (८९ किमी) का विभिन्न क्षेत्रमा धमाधम काम भइरहेको छ ।

सडक निर्माणका क्रममा अहिले यहाँ एक हजार भन्दा बढी मजुदर कार्यरत रहेका छन् । १७ वर्षे ठिटादेखि विवाहित तथा परिपक्व बुढापाका पनि लोकमार्गमा मजदुरी गरिरहेका भेटिन्छन् । कतिपय परिवारसहित साना नानीहरु समेत लिएर मजदुरी गरिरहेका भेटिन्छन् । तीमध्ये अधिकांश पश्चिम नेपालका मजदुरहरु रहेको लोकमार्गको सो खण्ड हेर्ने इञ्जिनियर सुरेश तुम्बाहाम्फेले बताए । उनका अनुसार पश्चिम नेपालका कञ्चनपुर, कैलाली, रुकुम, रोल्पा, सुर्खेत, सल्यान र डोटीका समेत गरी ७०० भन्दा बढी कामदार रहेका छन् । बाँकीमध्ये केही तेह«थुमकै स्थानीय कामदार र संखुवासभा तथा भोजपुरका पनि केही कामदार रहेका उनले बताए । यहाँ मजदुरी गर्न आएकाहरु गत मंसिर २१ मा सम्पन्न भएको दोस्रो चरणको चुनावमा मतदान गर्न समेत गाउँ फर्किएनन् । ‘चुनावको बारेमा त थाहा थियो, गाउँ पुग्नै चार दिन लाग्थ्यो, खर्च पनि उत्तिकै’–एक मजदुरले भने–‘त्यसैले चुनावमा पनि गइएन ।’ खेती लगाउन गएका बेला परेकाले स्थानीय चुनावमा भने मतदान गरेको उनीहरु बताउँछन् । तर दोस्रो चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव भएका जिल्लाका मजदुर कसैले पनि यो पटक भोट हालेनन् ।

भोट हाल्न जाँदा खर्च हुन्छ, त्यो खर्च कसैले पनि नदिने भएकाले आफूहरु भोट हाल्न नगएको उनीहरु बताउँछन् । त्यसो त निर्माण कम्पनीले उनीहरुलाई मतदान गर्न जाँदा छुटेका दिनको ज्याला पनि दिँदैन । काम छाडेर जाँदा फेरि काम गर्नै नदिनेजस्ता समस्या पनि उनीहरु माथि थियो । लोकमार्गको माझीटार—संक्रान्ति हुँदै म्याङलुङ जोडिने सडकखण्डमा अहिले ग्याभियन, ब्याक कटिङ, ड्रेन निर्माण तथा सडक चौडा गर्नेलगायत काम भइरहेका छन् । यो खण्डमा कालोपत्रेसम्म गर्नका लागि कोशी न्यौपाने, सिंह एण्ड ब्रदर्स, रसुवा, हिलाई, सिद्धिसाई, कालिकालगायत निर्माण कम्पनीले कामको जिम्मा पाएका इञ्जिनियर तुम्बाहाम्फेले बताए । ‘विभिन्न खण्डको काम विभिन्न चरणमा गरेर भइरहेको छ’–उनले भने–‘बीचबीचमा चुनाव र चाडपर्वले असर गरे पनि अहिले पुनः काम धमाधम शुरु हुँदैछ ।’

दुई वर्षअघि नै कालोपत्रेसम्मका लागि ठेक्का लागेका लोकमार्गका यी खण्डको कामको प्रगतिका आधारमा भने खासै सन्तोषजनक नभएको उनले बताए । तर अब कामको रफ्तार बढेको खण्डमा आगामी दुई वर्षभित्र माझीटारदेखि संक्रान्ति खण्ड कालोपत्रे भइसक्ने उनले बताए । त्यतिबेलासम्म ओयाक्जुङ–हलिमेला–म्याङलुङखण्ड पनि कालोपत्रे भइसक्ने उनले बताए । बीचको केही भाग, कोयाखोला र खोरुंगा खोलामा पुल निर्माणको कामले समेत अब गति लिने इञ्जिनियर तुम्बाहाम्फेले दाबी गरे ।

प्रकाशित : 21 December, 2017

प्रतिक्रिया दिनुहोस्