एकताको गृहकार्यमा वाम गठबन्धनका नेताहरु आन्तरिक छलफलमै व्यस्त

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका पार्टी एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट गृहकार्य गरिरहेका छन् ।

एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले एकतालाई असफल पार्ने पक्ष लाग्न खोजे पनि पूर्वघोषित सहमतिअनुसार आफूहरुको एकतामा अवरोध उत्पन्न नहुने बताए । दुवै पार्टी विचमा भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको छ । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको विषय जनताबाट अनुमोदन भइसकेकाले आफूहरु त्यसबाट पछि नफर्कने जनाउँदै आएका छन् ।

गत शुक्रबारका लागि बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक हुन सकेको थिएन ।

प्रकाशित : 27 December, 2017

प्रतिक्रिया दिनुहोस्