राष्ट्रपतिवाट अध्यादेश प्रमाणीकरण भएपछि पनि नयाँ सरकार गठनका लागि बाटो खुलेन
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना पुग्न लाग्दा समेत नयां सरकार गठन हुन सकेको छैन । कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएको र नयां सरकार गठनमा कांग्रेस बाधक बनिरहेको भन्दै एमाले आक्रोशित बनेको छ ।
सत्ता हस्तान्तरण गर्न राष्ट्रियसभा अध्यादेश स्वीकृत हुनुपर्ने अडान लिएको कांग्रेसले शुक्रबार राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेलगत्तै सर्त थपेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।’ यस हिसावले नयां सरकार गठनका लागि फागुनको दोस्रो सातातिर मात्रै सम्भव हुने बुझिएको छ ।