एउटा सपना

सहयात्रा टिभी
द्वारीका घिमिरे
जताततै ढुङ्गैढुङ्गा । रुखको साहारा नपाएर ढुङ्गैमाथि हुर्कन बाध्य लहराहरु । चञ्चल पखेटाहरु हल्लाउँदै दक्षिणबाट आएर जीवन नभेट्टाएपछि उराठ लागी पुनः दक्षिणतिरै फर्किरहेका चराहरुलाई नियाल्दै मनोज उकालो लागिरहेको छ । तल अविरल नदी बगिरहेको  छ । उकालो हिँड्दा उसमा थकाई पटक्कै छैन । उसले गन्तव्य नियाल्न सकिरहेको त छैन तर उसको मगजमा बसेको गन्तव्यस्थलको रोमाञ्चक झझल्कोले उकालो, एकान्त, चराहरुको चिरबिर, सम्भावित नरभक्षी जनावर सबै बिर्साइदिएको छ । बाटोभन्दा अलिक पर अँध्यारो गुफामा गिद्धहरु कराएको आवाजले समेत उसको एकाग्रता भङ्ग गर्न सकेको छैन । कताकता उज्यालोको वीचमा आइरहेको मानिसहरुको आवाजमा उसले आफ्नो काल्पनिक गन्तव्य खोजिरहेको हुन्छ तर वरिपरिका माटो रहित पहाड, वनस्पती विनाका लहरा, पानी विनाका वालुवाले तुरुन्त उसलाई गन्तव्यस्थल पुगिनसकेको भान गराउँछ । त्यहाँ चहलपहल गरिरहेका मानिसहरु देखेर उसको दिमागमा सुक्ष्म हाँसोको तरङ्ग उठ्छ तर उसले थाहा पाउँदैन । अघि बढ्दै जाँदा बाटोमा आफ्ना अग्रजहरुलाई पनि त्यहाँ देख्दा उसमा आत्मीयताको भावनालाई कुनै निराकार वस्तुले छोपिदिन्छ । उसमा अघि बढ्न झन्झन् उर्जा दिने काम गर्छ । ऊ आफूले देखेका, चिनेका, पढेका, सुनेका मानिसहरुको जालोमा फस्न मानिरहेको छैन । अँध्यारो पहाडमा टाउको सिधा उठाएर हेर्दा निलो आकाशबाट प्रकाशको सञ्चार भइरहेको आभाष उसको अवचेतनले गरिरहेको छ । त्यही उज्यालो पहाडको चुचुरोमा अवस्थित सुन्दर वातावरणको कल्पनाले उसको गति पनि बढ्दै गइरहेको छ ।
ऊ धेरै माथि पुगिसकेको छ । लहराहरु भेटिन छाडिसकेकाले बाटो ठम्याउन गाह्रो भैसकेको छ । चराचुरुङ्गीका आवाजहरु गुञ्जन छाडिसकेका छन् । यस्तो भान भइरहेको छ कि सायदै त्यहाँबाट माथि मानिसहरुको चहलपहल भएको हुँदो हो । केही समय अघिसम्म त उराठलाग्दो भएपनि जीवनयुक्त यात्रा थियो तर अघि बढ्दै गएपछि चट्टानै चट्टानले ढाकिएको अँध्यारो पहाडमा टाउको सिधा उठाएर हेर्दा निलो आकाशबाट प्रकाशको सञ्चार भइरहेको आभाष उसको अवचेतनले गरिरहेको छ । त्यही प्रकाशद्वारा सिञ्चित उसको स्वप्ननगर नजिक नजिक कठिन मार्गको स्फूर्तिसाथ यात्रामा तल्लीन हुँदा उसको जिज्ञासा उतिउति बढ्दै गइरहेको बेलामा अचानक आत्तिएर दिमाग शुन्य हुन्छ । ऊ त्यहाँबाट लड्न पुग्छ । उ लडिरहेको हुन्छ तर उसको अन्तर आत्मामा आनन्दको सञ्चार भइरहेको हुन्छ । उ एकैचोटी अनन्त पहाडबाट लड्दा उसको मष्तिष्क शुन्यप्रायः भएको हुन्छ । ढुङ्गाहरुमा ठोक्किँदै लहराहरुमा बेरिँदै उ बर्ल्याङ् वगरमा पछारिएपछि उसको आँखा खुल्दा उसलाई केही हिचकिचाहट हुन्छ । केही क्षणअघि लडेको अनकन्टार पहाड सम्झिँदा उसलाई आफूले श्वास फेरेको समेत विश्वास हुँदैन । एउटा सामान्य घरको छतबाट लडेर मरेको मान्छे देखेको उसको मनोविज्ञानले त्यस्तो मायावी पहाडबाट झरेर सकुशल सुतेको पाउनु सामान्य थिएन । आँखा खोलेर केही बेर वरपर नजर घुमाएपछि मात्र उसलाई अघिको दृश्य स्वप्नसंसार थियो भन्ने थाहा हुन्छ ।
सपनाको संघर्षले उसको वास्तविक शरीरमा समेत थकान महशुस भइरहेको हुन्छ । मुख सुकिरहेको हुन्छ तर आलस्यले थकित आफ्नो  शरीरलाई दुःख दिन मन लागिरहेको हुँदैन । दायाँपट्टीको टेवलबाट मोवाइल झिकेर समय हेर्छ । ८ः१५ । ला ¤ मार्ने भो आज ।’ छेउमा कोही भएको भए यही शब्द उच्चारण हुने थियो तर त्यहाँ कोही नभएपछि घाँटीबाटै बिलाउँछन् शब्दहरु । झल्यास्स मालिकको क्रोधीत अनुहार उसको आँखाअगाडि आउँछ । केही सेकेन्डअघिको आलस्य प्रकाशको गतिभन्दा तेज गतिमा लोप भएपछि उ ज¥याकजुरुक उठेर मुख धोएर कपडा लगाउन थाल्छ ।
गाडीमा खाद्य सामाग्री बोकेर पसल पसलमा बेच्दै हिँड्नु उसको दैनिकी हो । नजिकका मानिसलाई गाडीमा सामान बेच्छु भने पनि अलिक नयाँ मानिसलाई भने गोजीबाट मोवाइल निकालेर कुनै नम्बर डायल गर्न खोज्दै बहुराष्ट्रिय कम्पनीमा मार्केटिङ्ग मेनेजर छु भनेर भन्ने गर्छ । गोदाममा एकैचोटी धेरै सामान आएकोले आज डबल ट्रिप बेच्ने सल्लाह अघिल्लो दिन नै मालिकसँग गरेको हुन्छ, जसको फाइदा उसलाई पनि हुने बुझेर उ कोठाबाट हतार हतार निस्कन्छ । विहान ८ बजे बोलाएको भए पनि बेलुका रातीसम्म साथीभाईसँगको बेजोड जमघटले आलार्म घण्टी उसको कानमा मधुरो भएको थियो । केही ढिला भएपनि आज डबल ट्रिप गर्ने ध्याउन्नमा एउटा झोला बोकेर चप्पल पिटपिट बजाउँदै गोदामतिर लागिरहेको छ ।
सधैँ चिया, पाउरोटी खाएर हिँड्ने पसलअगाडि पुगेपछि उसलाई चियाको तलतल लागिरहेको हुन्छ तर सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको सेकेण्ड काँटाले उसलाई त्यहाँ पस्न जरुरी नरहेको निर्देशन दिएपछि छेउको पसलबाट एउटा चुरोट सल्काएर आकाशतिर धुवाँ उडाउँदै अघि बढ्छ । यतिञ्जेलसम्म पनि उसको मगजमा विहानीपख देखेको सपनाको छाप मेटिइसकेको हुँदैन । सपनाको दृश्य र चुरोटको धुवाँ एउटै गतिमा चलेपनि उसको रफ्तार धेरै तेज गतिमा बढिरहेको छ । घरीघरी सपनाकै दृश्यलाई ठम्याउन खोज्दाखोज्दै त्यही दृश्यको गतिमा उसको रफ्तार कम हुन्छ र फेरी कर्तव्यवोधले पूर्ववत् अवस्थामा पुग्छ । उसको मनमा एकप्रकारको तरंग उत्पन्न भइरहेको छ । एउटा सपना, जुन भयानक भएपनि एकप्रकारले आनन्द सञ्चार गरिरहेको छ ।
मालिकबाट करेला मिश्रित दुइचार शब्द खाएको भरमा हतार हतार बजारतर्फ लाग्छ । आज ड्राइभर पनि रिसाएको अनुभव गरिरहेको छ उसले । काम गर्दैगर्दा धेरैबेर अल्मलिँदा समेत दिक्क मानेर बस्ने ड्राइभर आज एक घण्टासम्म मालिकको बकवास सुन्दै बस्नुपरेकोमा झन् कति रिस उठेको हुँदो होला उसलाई पनि । एउटा पसलमा सामान बेचेर गाडीमा पस्न लाग्दा एकपटक वरिपरी नजर घुमाउँछ । झलक्क उसको नजरमा परेकी एउटी महिलालाई फेरी दोहो¥याएर हेर्न उसको मनले प्रेरित गरेपछि बाटोपारीबाट उतिर आउँदै गरेकी महिला विस्तारै उसकै आँखा अगाडी एउटी केटीमा परिणत हुन्छे । क्षणभरमै नजिक आइपुगेकी सुनितालाई उसले राम्ररी ठम्याउन सकेन तर पनि उसको नजरले आफु तिर आइरहेकी केटीलाई ‘अननोन’ भन्ने बिल्ला लगाएर अघि बढ्ने पक्षमा थिएन ।
‘मनोज !!’
केही आश्चर्य मिश्रित स्त्री आवाजले उसको अगाडीबाट उसकै नाम बोलाउँदा ऊ झसङ्ग हुन्छ । सबैले उसलाई यही नामले बोलाउने गर्छन् तर आज उसका रोमरोम रोमाञ्चित भइरहेका छन् त्यो आवाजले । त्यो अवाज जुन आवाजले उसमा जिन्दगीमा मिठासपूर्ण रंग छर्ने गथ्र्यो । उसको दिमागले केही सोच्न सकेन । मात्र एउटा आवाज निस्क्यो ।
‘सुनिता !!’
……………………
कक्षा ८ मा पढ्दा होला सायद सुनिता अश्लेवा आएकी । घर अर्घाखाँची भएपनि मावलमा बसेर पढ्थी । मनोज त्यही स्कूल पढाउने ज्ञानबहादुर सरको छोरा । सुनिता चाहिँ फडिन्द्र सरकी भान्जी । दुवैको एउटै कक्षा । अलग अलग समूह । अलग अलग बेन्च । अलग अलग साथी । समयक्रमसँगै अलग अलग समूहमै रहेर पनि एउटै सपना देख्न थालिसकेका थिए दुवैले । एउटा उमेर थियो, सपना थियो, स्वतन्त्रता थियो, सामाजिक लहर थियो । कति कुरा बुझेर त कति नबुझी उनीहरु एउटा लहरमा बगेका थिए । दुबैले एसएलसी दिएपछि सुनिता आफ्नै घरतिर पढ्न लागी, मनोज भने वुटवलतिर । त्यसपछि मनोजको जीवन अर्कै मोडमा प्रवेश ग¥यो । उनीहरुको फेरी भेट भएन । संघर्षको मैदानमा उत्रिएपछि उसले जीन्दगीका रंगहरु अनुभव गर्न पाएको थिएन । क्षणिक मनोरञ्जनमा भुलेका मानिसहरु देखेर उसलाई अचम्म लाग्थ्यो । जीन्दगीमा केही गर्नुपर्छ भन्ने सोच लिएको भएपनि आपूmले ठोस रुपमा भने केही गर्न सकेको थिएन । हरेक कुरालाई भौतिक रुपमा मात्र बुझ्ने उसका लागी सबैभन्दा ठुलो चीज केही थियो त आफ्नो भविष्य थियो । जुन उसले त्यही भौतिक दृष्टिले मात्र देखेको थियो । ऊ समाजबाट धेरै टाढा हुँदै थियो । कुनै पनि शहर संघर्षको मैदानमा लडिरहेका खेलाडीहरुको आँखा छलेर उनीहरुलाई समाजभन्दा टाढा जान प्रेरणा गर्ने गर्छ । मनोज पनि त्यही शहरमा अदृश्य हवनको पुरोडास बन्न पुगेको थियो । लुतो लागेको बेलामा जति कन्यायो त्यति मजा हुन्छ तर त्यसको परिणाम झन नराम्रो नै हुन्छ भन्नेजस्तै मनोजलाई पनि एउटा ठुलो भ्रमले गाँजेको थियो । उ सानातिना अवसररुपी लुतोलाई कन्याउँदै क्षणिक मजा लिँदै अगाडि बढ्दै थियो तर उसलाई आपूm भ्रममा भएको ग्लानि कहिले पनि भएन । उसले धेरै ज्ञान बटुले पनि जीन्दगी बुझ्न सकेको थिएन ।
आज अचानक सुनितालाई देख्दा उसमा १० वर्ष अगाडिका लहरहरु हुरीझैँ उर्लन थाल्छन् ।
‘तिमी कता छौ सुनिता आजकल ?’
‘आफ्नै घरतिर ।’
सुनिताको हुलिया देखेर प्रष्ट हुन्छ कि उसको बिहे भइसकेको छ र उसको छेउमा रहेकी बच्ची उसकै छोरी हो । केहीबेर उनीहरुबीच औपचारिक कुराकानी हुन्छ । मनोजको मनमा भने हुरीहरु चलिरहेका हुन्छन् । पहिलेका स्वतन्त्र सपनाहरुले उसलाई जिस्काइरहेका हुन्छन् । सुनिताले बोलिरहँदा उसका कुरामा राम्रोसँग ध्यान दिन नसके पनि उसको नजर सुनिताको अनुहारबाट हट्न सकेको छैन । ट्राफिकले सिटी बजाउँदै गाडीतर्फ औँला देखाएपछि ड्राइभरले हर्न बजाउँदा मनोजको ध्यान भङ्ग हुन्छ । उनीहरु विदा माग्दै आ–आफ्नो बाटो लाग्छन् ।
बेलुका त्यही पुरानो कोठामा पसेर उसले आफ्नो भूत, वर्तमान र भविष्यका बारेमा पालेका भ्रमहरु केलाउन थाल्छ । आजै राती देखेको सपना उसलाई झल्यास्स याद आउँछ । सपनाका विम्वहरु उसको दिमागमा ताजा भएर आउँछन् । उसले पढेका पुस्तकहरु, सुनेका कथाहरु, हेरेका चलचित्रहरु, चिनेका मानिसहरु सबैको जीवनबाट पहिले बुझेको कुरालाई नयाँ दृष्टिले बुझ्न थाल्छ । अनि आपूmलाई नितान्त एक्लो महशुस गर्न थाल्छ । पहिले उसले जीवनमा एउटा गन्तव्यको खोजीमा विताएको व्यर्थ समयप्रति पश्चाताप गर्दै जीवन एउटा यात्रा हो जसको कुनै गन्तव्य हुँदैन भन्ने निष्कर्षमा पुग्छ । उसलाई ग्लानि हुन्छ । सधैँझैँ खाना खाएर एउटा नयाँ सपना देख्ने आशामा कोल्टे फेर्छ ।

प्रकाशित : 27 January, 2018

प्रतिक्रिया दिनुहोस्