एमाले र माओवादीको आ–आफ्नै ब्यानर राखेर कार्यक्रम सुरू
काठमाण्डौँ बैशाख–९,लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर आयोजित संयुक्त कार्यक्रममा एमाले र माओवादीको आ–आफ्नै ब्यानर राखेर कार्यक्रम सुरू भएको छ ।
लेनिनको फोटो ब्यानरमा नराखेको विवाद शान्त भएपछि दुबै पार्टीको ब्यानर राखेर कार्यक्रम सुरु गरेकोे हो । पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नहुदा माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए ।
कार्यक्रममा मार्क्स, लेनिनकै फोटो नराखि नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विवाद गरेपछि कार्यक्रम रोकिएको थियो ।
एमालेको पुरानै ब्यानर र माओवादीको नयाँ ब्यानर बनाएपछि सहमति जुटेको थियो । मञ्चमा दुर्इ अध्यक्षको अगाडि मार्क्स र लेनिनको फोटो राखिएको छ ।
पहिलो पटक राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् ।