स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुबीच मै छुवाछुत

सहयात्रा टिभी

गुल्मी । असार–२९, गुल्मीको अस्लेवा स्वास्थ्य चौकी सत्यवती–१, अस्लेवामा कार्यरत कर्मचारीहरु विचमा नै छुवाछुत र भेदभावको व्यवहार गरिएको पाइएको छ । उक्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी रेखा घिमिरे बिश्वकर्मालाई अर्की अनमी लक्ष्मी पाण्डेले छुवाछुतको व्यबहार गर्दै आईरहेकी छन् ।

लक्ष्मीले रेखासँगै गाउँमा काम गर्न जाँदा अरुलाई तल्लो जातकी हो भनेर रेखाको परिचय दिइदिने, कार्यालयमा रेखाले छोएको चिया खाजा अनेक बाहाना बनाइ नखाइदिने आदि व्यवहारबाट भेदभाव गरेको महसुस भएको रेखाको भनाइ छ ।

सत्यवती गाउँपालिका वडा नम्वर १ अस्लेवाका वडाध्यक्ष भीमप्रसाद पाण्डेले यस विषयमा भनेका छन्, ‘ विभेद भएको सुनेपछि म गएर सम्झाएको छु, आगमी दिनमा त्यस्तो नगर्ने भएका छन् । ’

उक्त स्वास्थ्य चौकीका प्रमुख अहेव कृष्णप्रसाद पाण्डे र अनमी पाण्डे श्रीमान श्रीमति हुन् । स्वास्थ्य चौकी प्रमुख पाण्डेले भने – ‘विभेदका सम्वन्धमा वडाध्यक्षले आएर सम्झाउनुभएको छ तर, मलाई त्यस्तो लाग्दैन ।’

सरकारी कार्यालय मै छुवाछुत भएकोबारे जिल्ला जनस्वास्थ्य प्रमुख उत्तम कोइराला र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समेत ध्यानकृष्ट गराइएको बताइएको छ ।

प्रकाशित : 13 July, 2018

प्रतिक्रिया दिनुहोस्