बलात्कार विरूद्धको संकल्प प्रस्ताव थन्कियो संसदमा

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२४, महिला हिंसा र बलात्कार विरूद्ध पाठ्यक्रम बनाउन २८ सांसदले पेश गरेको संकल्प प्रस्ताव विगत चार महिनादेखि संसदमा थन्किएको भन्दै महिला सांसदहरुले गुनासो व्यक्त गरेका छन् ।

बलात्कार जस्ता जघन्य अपराधबाट पीडित बालिकाहरूको व्यक्तित्व विकासका लागि पहल गर्ने, महिला हिंसा न्यूनीकरण गर्न सकिने खालका सामग्री पाठ्यक्रममा राख्ने जस्ता चार विषय समावेश गरेर दर्ता गरिएको संकल्प प्रस्ताव चार महिना बितिसक्दा पनि संसद्को कार्यसूचीमा पर्न नसकेको भन्दै सांसदहरूले गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

हिंसा, शोषण र बलात्कारमा परेकालाई तत्काल क्षतिपूर्ति दिन, स्थानीय तहदेखि संघीय स्तरसम्म जनचेतनाका कार्यक्रम ल्याउन र सामाजिक न्यायको कुरा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न ‘सबै सासंदहरू एकैसाथ संसद्‌मा प्रतिबद्धता जनाऔँ’ भन्दै २८ जना सासंदले गत चैतमा दर्ता गराएको संकल्प प्रस्ताव हालसम्म संसद्को कार्यसूचीमा पर्न नसकेको सासंद विन्दा पाण्डेले बताइन् ।

महिला विरुद्धको हिंसा रोक्न सकिने उपायहरूको प्रचारप्रसार गर्न देशभरि एउटा निश्चित समयसम्म अभियान चलाउने कुरा पनि उक्त प्रस्तावमा समेटिएको छ ।

संकल्प प्रस्तावलाई एकपटक संसद्को कार्यसूचीमा पार्न सफल भएको तर त्यही दिन संसद अवरुद्ध भएकोले त्यो अघि बढ्न नसकेको सासंद पुष्पा भुसालको भनाइ छ ।

प्रकाशित : 9 August, 2018

प्रतिक्रिया दिनुहोस्