निर्मला हत्या प्रकरण झन् रहस्यमय : निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

महेन्द्रनगर । असोज–१४, बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ।
प्रहरीले निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डिएनए परीक्षण गरेको थियो। कञ्चनपुरबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन । एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ ।
गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमा नजिक निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। हत्या भएको यतिका दिन सम्म पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन् ।