केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोरखा दरबारमा पनि राखियो जमरा

सहयात्रा टिभी

गोरखा । असोज–२४, आज नेपालीहरुको महान चाड बडादशैँको पहिलो दिन गोरखा दरबारमा पनि जमरा राखिएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखा दरवारमा आज बिहान ७ः१५ को साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो ।

जमराका लागि कालिका मन्दिरको जमरा कोठामा चार पाथी र गुरु गोरखनाथको गुफामा एक पाथी जौ को बीज छरेर जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले जानकारी दिए ।आजको दिन मूल दरबारको कैलाश कोठा हुँदै कालिका मन्दिरको गर्भगृहमा भगवती सवारी गर्ने प्रचलन छ ।

‘मूल दरवार पुनर्निर्माणका लागि भत्काइएको हुँदा भगवतीलाई कालिका मन्दिरकै कैलाश कोठामा राखेका थियौं,’ कट्टेलले भने, ‘आज विहान त्यहीँबाट गर्भगृहमा सवारी गरायौं ।’भगवती सवारीको निश्चित साइत नहुने उनले बताए ।

भगवती सवारीसँगै विहानको उत्तम साइतमा घटस्थापना गरेर पानी घडा थाप्ने काम भएको उनले जानकारी दिए । ‘यो काम पनि मूल दरवारमै गरिन्थ्यो तर अहिले दरवार भत्काइएकाले कालिका मन्दिरमै सबै काम गरियो,’ उनले भने ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्