श्रम सम्झौता गर्न कुवेतका श्रममन्त्री नेपाल आउँदै
काठमाण्डौं । असोज–२७, केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् ।
स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले तयारी नपुगेको भनेपछि उनको भ्रमण कम्तीमा एक साता पर सरेको हो ।श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग नेपालको हात माथि पर्ने गरी श्रम सम्झौताको मस्यौदामा सहमति जुटाउन सफल भएसँगै अन्य देशसँग पनि पहल शुरु भएको हो । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको छ ।
कुवेतमा ३० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । तर नेपालमा श्रम स्वीकृति बन्द भएपछि उनीहरु आउन पाएका छैनन् । घरेलु कामदारको श्रम स्वीकृति रोकिएपनि अवैध बाटोबाट नेपाली महिला कुवेत गइरहेका छन् ।
अवैध बाटोबाट जाँदा नेपाली महिला जोखिममा परेको भन्दै संसदको श्रम सम्बन्ध समितिमा घरेलु कामदारलाई श्रम स्वीकृति दिन सांसदहरुले सुझाव दिएका छन् । श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरि मात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।