केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३१, बडादशैंको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।

आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरैंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको बताइन्छ ।
आज काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ ।

प्रकाशित : 17 October, 2018

प्रतिक्रिया दिनुहोस्