बलात्कारकाण्ड : अन्र्तराष्ट्रिय जगतमा नेपालको छवि खस्कन नदेऊ(सम्पादकीय)

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : आजभोली प्रत्येक दिन बलात्कार र बलात्कारका प्रयास भएका घटनाहरु सुन्नमा आउँछन् । पत्रपत्रिका र टेलिभिजनजस्ता संचारमाध्यमहरुका लागी गतिला समाचारका माध्यमहरु पनि बन्दै गएका छन्, प्रत्येक दिन हुने बलात्कारका घटनाले । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याले देशभर तरङ्ग पैदा गरिरहँदा एकतिर नागरिकहरुमा प्रहरी प्रशासनप्रतिको विश्वास घटेको छ भने अर्कोतिर उक्त घटनापछि बढ्दै गएको बलात्कारका नयाँ नयाँ अन्य समाचारले अर्को आतङ्क र त्रास फैलाएको छ ।

‘जो होचो उसकै मुखमा घोचो’ भन्ने उखान जस्तै बलात्कारको शिकार पनि अधिकांश बालिकाहरु त्यसमा पनि न्युन वर्गका बालिका हुने गरेका छन् । प्रलोभनमा पार्न सजिलो हुने, सजिलै फकाउन सकिने भएकाले बलात्कारीहरुले बालिकाहरुलाई आफ्नो शिकार बनाइरहेका छन् ।

घटना घटिरहेका छन्, समाचार आउने आइरहेका छन्, न्याय माग्ने मागिरहेका छन् अनि सडकमा उत्रिएर विरोध गर्नेहरु पनि गरि नै रहेका छन् । दोषीले सजाय पाउलान् या नपाउलान्, तर घटना न्यूनिकरण हुनुको सट्टा बढ्दै गएकोमा भने अझै पनि सम्बन्धित पक्षले कुनै चासो दिइएको पाइँदैन ।
आर्थिक वर्ष २०७४।७५ मा १ हजार ४ सय ८० जबरजस्ति करणीका मुद्दा दर्ता भएका छन् । यसमा ६४ प्रतिशत बालिकाहरु रहेको तथ्याङ्क छ । जसमा १० वर्षमुनिका २ सय ६१ जना र ११ देखि १६ वर्षमुनिका ५ सय ५० जना बलात्कारका पिडित भएको तथ्याङ्क छ ।

सार्वजनिक भएका घटनाहरु त यति छन् भने बालिकाहरु अर्थात पिडित पक्षले नखुलाएका, परिवारले बाहिर नल्याएका, समाजमा मेलमिलापको माध्यमवाट मिलाइएका यस्ता कति घटना होलान् हामी अनुमान समेत लगाउन सक्दैनौँ ।

अपराधिहरुले बालिकाहरुलाई निसाना बनाइरहँदा र दिनप्रतिदिन सानासाना बालिकाहरु बलात्कारको शिकार भइरहँदा सम्बन्धित पक्षले अपराधिलाई कडा भन्दा कडा सजाय दिएर घटनालाई न्यूनिकरण गर्नेतर्फ राज्यको गम्भिर ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । होइन भने जन्मिएको ६ महिना नपुग्दैका शिशु तथा बालिकाहरुको यौन रक्षाका लागी बाबुआमा शसंकित भएर बाच्नुपर्ने र विहान घरवाट निस्केको छोरी सांझ घर आउलिन् या नआउलिन् भनेर परिवारमा थप भय बढेको छ । तसर्थ, राज्यप्रतिको निकम्मा र लाजमर्दो स्थितिले गर्दा अन्र्तराष्ट्रिय जगतमा नेपालको छवि उचों हुनुको सट्टा झनै घट्दै जानेमा कुनै शंका छैन ।

यो पनि पढ्नु

के समाजले काँचुली फेर्ला त ? (सम्पादकीय)

 

प्रकाशित : 28 October, 2018

प्रतिक्रिया दिनुहोस्