प्राकृतिक कारणले ६ महिना नपुग्दै २१ गैँडा मरे

सहयात्रा टिभी

चितवन । पुष–१५, चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ ।

यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौवटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २० वटा र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर पाँच, ढिस्कोबाट लडेर एउटा, बच्चा पाउन नसकेर एउटा, दलदलमा फसेर दुई र बूढो भएर कालगतिबाट ११ वटा रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ ।

निकुञ्जभित्र प्राकृतिक कारणले मर्नेमा भाले–भाले जुधेर पाँच, ढिस्कोबाट लडेर एक, बच्चा पाउन नसकेर एक, दलदलमा फसेर दुई र बूढो भएर कालगतिबाट ११ रहेका छन् ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्षभित्रका रहेको घिमिरेले बताए । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संंरक्षण अधिकृत वेदकुमार ढकालले संख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको संख्या पनि बढ्दै गएको बताए । एउटा गैँडाको शवपरीक्षण गर्दा मुटु र कलेजोमा समस्या देखिएको भए पनि अन्यमा कुनै समस्या नदेखिएको उनले बताए ।

यद्यपि प्राकृतिक कारणले मर्ने संख्या बढिरहेकाले यसको खोजी गर्ने काम पनि भइरहेको उनको भनाइ छ । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउँछन् । गत वर्ष प्राकृतिक कारणले २५ गैँडा मरेका थिए ।

निकुञ्जको तथ्यांकअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । यसअघि चोरी–सिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए ।
०७३ साल चैत २५ गतेपछि चोरी–सिकारीबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी–सिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने संख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । झन्डै दुई वर्षयता चोरी–सिकारीबाट भने गैँडा मारिएका छैनन् । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैँडा चोरी–सिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना हुँदै छ ।रासस

प्रकाशित : 30 December, 2018

प्रतिक्रिया दिनुहोस्