वीरगन्ज भन्सार पुग्यो पाइप लाइन

सहयात्रा टिभी

वीरगन्ज । पुष–२९, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको पाइप बिच्छ्याउने काम सिमराबाट वीरगन्ज भन्सारको शङ्कराचार्य गेटसम्म पुगेको छ । अमलेखगन्ज, पथलैया, सिमरा, जितपुर, रामपुर टोकनी, परवानीपुर, गण्डक हुँदै वीरगन्ज बाइपासबाट वीरगन्ज भन्सारको शङ्कराचार्य गेटबाट दक्षिण सिर्सिया नदीको किनारसम्म पुग्ने गरी काम शुरु गरिएकोमा शङ्कराचार्य गेटसम्म पुगेको हो ।

नेपालतर्फ रक्सौल–अमलेखगन्ज ३६.७ किलोमिटर र भारततर्फ मोतीहारी–रक्सौल ३३.२ किलोमिटर गरी ६९.९ किलोमिटरको दूरीमा स्थापना गर्न थालिएको पेट्रोलियम पाइपलाइनको निर्माण कार्य द्रूत गतिमा भइरहेको छ ।

गण्डकदेखि परवानीपुरसम्ममाका केही स्थानमा गरी करिब एक किलोमिटर, सिमरा र पथलैया बीचमा पर्ने वन क्षेत्रको करिब साढे एक किलोमिटर र पथलैयादेखि अमलेखगन्जसम्मको वन क्षेत्रमा आठ किलोमिटर पाइप बिच्छ्याउन बाँकी रहेको परियोजनाको सिमरास्थित कार्यालयका प्रमुख इन्जिनियर शरद पौडेलले जानकारी दिए । अधिकांश वन क्षेत्रमा मात्रै पाइप गाड्ने काम बाँकी रहेको उनले बताएका छन् ।अहिले चालु राजमार्गको केन्द्रबाट २३ मिटर पश्चिमबाट सोझो गरी पेट्रोलियम पाइप लाइनको पाइप गाड्नुपर्ने भएकाले अमलेखगन्ज पथलैयाको आठ किलोमिटर र पथलैया सिमराको साढे एक किलोमिटर गरी साढे दस किलोमिटरको वन खण्डमा पाइप लाइन बिच्छ्उन बाँकी छ । वन क्षेत्रमा पाइप बिच्छ्याउन छ हजार ६५३ वटा ठुला रुख काट्नुपर्ने र करिब ८० हजारभन्दा बढी साना बोटबिरुवा नष्ट हुने उनले जानकारी दिए ।

बस्ती क्षेत्रको २६ किलोमिटरको काम लगभग सकिएको र सिमरादेखि अमलेखगन्जतर्फको काम वनका कारण रोकिएको नेपाल आयल निगमले जनाएको छ । वैशाखसम्म तेल आपूर्ति गर्ने गरी काम अघि बढेको छ ।

सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । एक किलोमिटरमा औसत पाँच करोड रुपियाँ लागत लाग्ने अनुमानसहित भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ ।

पाइप लाइन परियोजना सम्पन्न भएपछि प्रतिघन्टा दुई लाख लिटर डिजेल पदार्थ भित्र्याउन सकिने दाबी गरिएको छ । यो पाइप लाइन बिछ्याएपछि अमलेखगन्जबाट ट्याङ्करमा डिजेल ओसार्न नेपाली ट्याङ्कर जानुपर्ने छैन ।

पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगन्ज डिपोमा तीन हजार नौ सय र चार हजार एक सय किलोलिटर तेल अटने क्षमता भएका २/२ वटा गरी चार वटा ट्याङकीसमेत मर्मत भएका छन् ।
पाइप लाइन प्रयोगमा आएपछि प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ । पाइप लाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्नेछ ।

निमार्णको प्रक्रियामा रहेको पेट्रोलियम पाइपलाइनको निर्माण काम सम्पन्न भएपछि अमलेखगन्ज–रक्सौल इन्धन ढुवानी खर्च रु २५ करोड बचत हुने दाबी गरिएको छ ।
पाइप लाइन परियोजना निमार्णमा नेपालको लागत रु एक अर्ब ५० करोड ६ वर्षमा हुने बचतले भरपाई हुने नेपाल आयल निगमको दाबी छ ।

पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्याङ्कर हिँड्दाको ट्राफिक जाम जस्ता समस्या कम हुनेछ । पाइप लाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याइने छ ।
एक प्रकारको इन्धन आएपछि पाइप सफा गरेर अर्को इन्धन ल्याइने छ । पाइपबाट एक पटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने जनाइएको छ ।रासस

प्रकाशित : 13 January, 2019

प्रतिक्रिया दिनुहोस्