नाष्टले ५ महिनापछि बल्ल पायो उपकुलपति

काठमाण्डौं । माघ–९, सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा डा. सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । अस्ति सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ४ वर्षका लागि उपकुलपतिमा नियुक्त गरेको हो । नाष्टका प्राज्ञ समेत रहेका ४७ वर्षीय श्रेष्ठ २ पटक राष्ट्रिय योजना आयोगका सदस्य भएका थिए।
श्रेष्ठले जापानको ओसाका सङ्ग्यो विश्वविद्यालयवाट वातावरणीय विकास इन्जिनियरिंगमा विद्यावारिधी गरेका हुन् । २० बर्ष भन्दा बढी निजी, सरकारी र गैरसरकारी सँस्थाहरु काम गरेका अनुभवी श्रेष्ठले युएनडीपी, बिश्व बैंक, एसियाली विकास बैंक र जिआईजेड लगायतका बिभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा विज्ञको रुपमा काम गरीसकेका छन् ।
नेपालमा स्मार्ट सिटीको परिकल्पनाकार समेत रहेका शहरी बिकासका विज्ञ श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य हुँदा धेरै राष्ट्रिय नीतिहरु समेत तयार पारेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसंग आवद्ध श्रेष्ठ बिभिन्न पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित पनि भएका छन् ।
नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लगभग ५ महिनादेखि उपकुलपतिविहीन भएको थियो । तत्कालीन उपकुलपति प्रा.डा. जीवराज पोखरेलको ४ वर्षे कार्यकाल भदौ १४ मा सकिएको थियो ।