मनाङमा भेटिएका कोरोना संक्रमित बसेको होटेल सिल
काठमाडौं।असार–०६,मनाङमा कोरोना पोजेटिभ देखिएका कर्मचारी बसेको लमजुङको सदरमुकामको एउटा होटेललाई सिल गरिएको छ । बेंसीसहरको पुष्पाञ्जली होटेलमा वास बसेर गएको खुलेपछि होटेललाई सिल गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।होटेल सञ्चालन गर्ने परिवारका चारजना सदस्यको स्वाब संकलन गरी उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको शर्माले जानकारी दिए ।
लमजुङको बेंसीसहर हुँदै मनाङ पुगेका संक्रमितबाट लमजुङका नागरिकमा पनि कोरोनाको जोखिम बढ्न सक्ने भएकाले होटेलमा सम्पर्कमा रहेकाहरूको प्रशासनले खोजी थालेको छ । कपिलवस्तुको वाणगंगा स्थायी ठेगाना भई मनाङको चामेमा कार्यरत ५७ वर्षीय एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो ।स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले पिसिआर रिपोर्ट पोजेटिभ आएको कर्मचारीलाई चामेको आइसोलेसनमा राखिएको बताएकाछन् । उनीसँगै मनाङ पुगेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । एकजनामा कोरोना संक्रमण देखिएपछि मनाङमा उच्च सतर्कता अपनाइएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।