आज मात्रै ५३८ जना कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । असार–०९,नेपालमा कोरोना भाइरस संक्रमिततको संख्या १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो।हाल सम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८६ हजार तीन सय ६६ र आरडीटी विधिबाट दुई लाख ७१ हजार ५ सय ८४ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । कोरोना जित्नेको संख्या भने दुई हजार २ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । सोमबार दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार उनको असार ८ गते (सोमबार) साँझ प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको हो। उनी क्षयरोग र दमका रोगी थिए। उनलाई असार ३ गते दैलेखबाट थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। असार ३ गते कोरोना परीक्षणका लागि लिइएको उनको स्वाबको रिपोर्ट असार ४ गते पोजिटिभ आएको थियो। उनको निधन भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २४ पुगेको हो। अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार गराइरहेका उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको थियो।

प्रकाशित : 23 June, 2020

प्रतिक्रिया दिनुहोस्