उपत्यकामा आजमात्र १७ कोरोना संक्रमित सहित ४८२ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या १४ हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं। असार–१७,कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिएकाछन् । जसमध्ये ११७ महिला र ३७५ पुरुष रहेका छन् ।
काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा तीन महिला र दुई पुरूष र भक्तपुरमा एक महिला र एक पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।यो संगै उपत्यकामा आज मात्रै संक्रमितको संख्या १७ पुगेको छ । नेपालभर चार हजार ६५६ डिस्चार्ज भएका छन् ।यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नौ हजार ३६० जना रहेको बताइएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थप एक व्यक्तिको मृत्युको पुष्टि गरेको हो । मृत्यु हुनेमा अछामका रामरोसन गाउँपालिकाका वडा नं ५ का ४५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । उनको असार १४ गते बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमहेका बिरामी थिए ।मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन गरिएको थियो । उनमा असार १६ गते कोरोना पोजिटिभ आएको थियो । उनीसँग सम्पर्कमा आएका दुई कुरुवाहरुको भने कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित : 1 July, 2020

प्रतिक्रिया दिनुहोस्