ओली र प्रचण्डबीचको ‘वार्ता’ सकियो
काठमाडौं । असार–२३, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच एक्लाएक्लै (वान टु वान) भएको वार्तामा कुनै निश्कर्ष निस्केको छैन। छलफलले सकारात्मक रुप लिए पनि कुनै सहमति नभएको स्रोतले बतायो। आन्तरिक परामर्श गरेर थप छलफल गर्ने गरी वार्ता टुंगिएको बताइएको छ।सोमबार पनि दुई अध्यक्षबीच भएको छलफलमा निश्कर्षबिना नै टुंगिएको थियो। दुवै पक्ष सोमबार दिनभर आन्तरिक परामर्शमा व्यस्त थिए। बुधबार स्थायी समितिको बैठक का लागि दुवै अध्यक्ष तयार भएका छन्। बैठकअघि बुधबार फेरि दुवै अध्यक्षबीच एकचरणको छलफल हुने भनिएको छ।सोमबार लागि सारिएको पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरिएको छ। पार्टीको एकता बचाउन युवा नेताहरुको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका हुन्। सामूहिक छलफलभन्दा पनि दुई अध्यक्षबीचको एक्लाएक्लै (वान टु वान) वार्तामा अहिले जोड दिइएको छ।
दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन्। उनीहरुले दुवै पक्षका नेताहरुलाई भेटेर मनाउने र सम्झाउने काम गरिरहेका छन्। घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहितका युवा नेताहरू यतिबेला एकता बचाउनका लागि दुवै पक्षसँग सम्मवादमा जुटेको जनाइएको छ।आइतबार पनि बिहानदेखि बेलुकासम्म नेकपाका नेताहरु आन्तरिक छलफल र परामर्शमा जुटेका थिए। आइतबार तीनजना शीर्षहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपतिले पनि पार्टीको आन्तरिक झगडा बढी उचालेर अस्थिरता ननिम्त्याउन सुझाव दिदै मिलेर अघि बढ्न सल्लाह दिएकी थिइन्। तीनैजना नेताहरुले पार्टी विवादमा राष्ट्रपतिलाई तान्ने प्रयास गलत भएको उल्लेख गर्दै पार्टीलाई समेत उपेक्षा गर्दै पेलेर अघि बढ्ने प्रधानमन्त्री ओलीको प्रवृत्तिको कारण यस्तो अवस्था आएको बताएका थिए।प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाव दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएपछि अवस्था झन् जटिल बनेको हो। सचिवालयका बहुमत सदस्य र स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्र रुप लिएको हो।