यस्तो छ एक साताको मौसमी विवरण

काठमाडौं । असार–२५,यतिबेला तीव्र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागमाथिको आकाशमा रहेको छ । त्यो रेखा अझमाथि सर्दो क्रममा छ । जसका कारण बिहीबार रातिदेखि एक सातासम्म नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मौसमविद् प्रतिभा मानन्धरले यस अवधिमा “नेपालका धेरैजसो ठाउँमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा अत्यन्त भारी वर्षा हुन सक्ने देखिन्छ,” बताएकीछिन् ।बलियो न्यून चापीय रेखा भएकाले लामो समय यसले नेपालमा मनसुनी गतिविधि कायम गर्ने क्षमता राखेको उनको भनाइ छ तर लगातार आकाश नै नखुली वर्षा हुने भन्ने होइन । एकछिन खुल्ने र फेरि बदली हुने क्रम जारी रहने छ । लामो समय वर्षा हुँदा तराईका भू–भागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
न्यून चापीय रेखा तराईमाथि नै रहेको हुनाले तराईमा अन्यत्रभन्दा बढी वर्षाको सम्भावना रहेको मानन्धर बताछिन् । उनका अनुसार सबै प्रदेशमा अविरल वर्षाको सम्भावना रहे पनि कर्णाली प्रदेशमा अलि कम वर्षा हुनेछ । प्रायः हालसम्म देखिएको न्यून चापीय रेखाको प्रभाव तीन/चार दिन देखिए पनि अहिलेको न्यून चापीय रेखाको प्रभाव अर्को सातासम्म रहने देखिएको छ, मानन्धरले बताइन् ।यसअघि प्रिमनसुनको समयदेखि नै वर्षा हुने क्रम नरोकिएकाले देशैभरका नदीमा तीव्र बहाव बढ्दोे छ । एक साताको निरन्तर वर्षाका क्रममा शुक्रबारदेखि आइतबारसम्म नारायणी, कन्काई, कोसी, महाकाली, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले जानकारी दिए ।विशेषगरी चुरे र तराईका सीमा क्षेत्रको भूभाग डुबानको प्रबल सम्भावना छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन तथा होचो स्थानमा डुबानको खतरा छ । प्राधिकरणका प्रमुख अनील पोखरेलका अनुसार सम्भावित जोखिमलाई आकलन गरी मनसुन पूर्वतयारी प्रतिकार्ययोजना २०७७ अनुसार तयारी थालिएको छ । विपद्लाई दृष्टिगत गर्दै सङ्घीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरू, विकास साझेदारहरू, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रलाई तयारी अवस्थामा राखिएको जानकारी उनले र्दिए। त्यस्तै विपद् व्यवस्थापनमा खटिने निकाय र आम सर्वसाधारणलाई सतर्क रहन प्राधिकरणले अपिल गरेको छ ।प्राधिकरणले निरन्तर वर्षा सुरु भएसँगै आफ्ना टोल, गाउँ, बस्ती आसपासका नदी तथा खोलाको बहावको निरन्तर जानकारी राख्न आग्रह गरेको छ । यसले स्थानीय बाढीको जोखिमबाट आफैँले आफ्नो टोलवासी र परिवारको सुरक्षा गर्न सकिने पोखरेल बताउछन् । यीबाहेक ठूला नदीनालामा आउने बाढीको जानकारी लिन टोल फ्री नम्बर ११५५ र आपत्कालीन अवस्थाका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ मा २४सैँ घण्टा सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ ।