महाशाखा प्रमुख ढकालसहित तीन सय ७५ जना प्रहरी क्वारेन्टाइनमा

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१८,उपत्यकाको ट्राफिक व्यवस्थापन चलायमान बनाउने केन्द्रका रुपमा रहेको महानगरीय ट्राफिक महाशाखा आइतबार सुनसान थियो । ट्राफिक कारबाहीमा परेका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजबिन जस्ता काम गर्दैआएको बग्गीखानास्थित उक्त महाशाखामा दैनिक सयौँ सेवाग्राहीको भीड हुन्थ्यो ।त्यहाँ कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखाले अहिले बग्गीखानामा आवतजावतमा रोक लगाएको छ ।

महाशाखामा रहेका दुईजना ट्राफिक प्रहरीलाई कोरोना पुष्टि भए संगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)बाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवाहरू बन्द भएका छन् ।महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले तीन सय ७५ जना नै क्वारेन्टाइनमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिए।

अहिले कारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ । उनीहरुको रिपोर्ट नआएसम्म ट्राफिक मुख्यालय बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको जनाइएको छ।उपत्यकाभित्र एक हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब चार सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित : 2 August, 2020

प्रतिक्रिया दिनुहोस्