संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन प्रधानमन्त्री ओलीको आग्रह

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२०, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन प्रधानमन्त्री ओलीले आग्रह पनि गरेका छन् । प्रधानमन्त्रीले परामर्श बैठकमा भनेको कुरा उल्लेख गर्दै उनका सञ्‍चार विज्ञ रामशरण बजगाईंले भने, ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ ।  “यो संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ । यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध,” प्रधानमन्त्रीको भनाइ थियो, ‘यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।’प्रधानमन्त्रीको भनाई उदृत गर्दै उनले भने ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएको बजगाईंले बताए। देउवाले बैठकमा भनेका छन्, ‘हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो । मुख छोपेर हिँड्न बानी पार्नुपर्‍यो ।’कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरिरहेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका छन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको वर्तमान वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्श गरिरहेको जानकारी दिएका छन् ।बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।

प्रकाशित : 4 August, 2020

प्रतिक्रिया दिनुहोस्