सुशील भट्टको नियुक्ति खारेजीका लागि अदालतमा रिट दायर

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२६, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको विवादित नियुक्ति प्रकरण अदालतमा पुगेको छ।पाटन जिल्ला अदालतमा भट्टको नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै निर्णयको खारेजीका लागि रिट दायर भएको छ। अधिवक्ता जयबहादुर भुजेलले भट्ट नियुक्तिको निर्णय कानुनबमोजिम नभएको दावी रिट दायर गरेका हुन्। अदालतका रजिष्ट्रार बाबुराम दाहालले
अदालतमा रिट दर्ता भएको जानकारी दिएका हुन् । कालोसूचीमा परेको व्यक्ति योग्य नहुने भन्दै नियुक्ति गैरकानुनी भएको दाबी गरिएको बताइएको छ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनोट समितिले भट्ट, रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम सिइओका लागि सिफारिस गरेको थियो। कालोसूचीमा परेका बद्‌नाम विचौलियालाई लगानी बोर्डको जिम्मा लगाएको भन्दै पार्टीभित्रैबाट पनि नियुक्तिको विरोध भएको थियो। यसै विषयलाई लिएर केही दिन अघि नेकपाका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेका थिए र बदनाम विचौलियालाई लगानी बोर्डमा कसको डिजाइनमा ल्याएको भन्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गरेको पनि जनाइएको थियो। भट्टको नियुक्तिले पार्टी र सरकार दुबै बदनाम भएको बताउँदै यस्तो गलत कदमलाई सच्याउन प्रधानमन्त्रीलाई दुबैले आग्रह समेत गरेका थिए।

प्रकाशित : 10 August, 2020

प्रतिक्रिया दिनुहोस्