गोंगबु हत्या प्रकरण : प्रहरीले गर्यो हत्यारा सार्वजनिक

काठमाडौं । श्रावण–२७, गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बोहराको हत्यामा संलग्न आरोपित चितवन घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई प्रहरीले(मंगलबार)आज सार्वजनिक गरेको हो ।
शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर रक्सी पिएको प्रहरीले अनुसन्धानबाट खुलेको बताएको छ । पछि कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको कल्पनाले बयान दिएकी छिन् । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको पनि कल्पनाले स्वीकार गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।प्रहरीले बोहराको हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरेको छ । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकी बाहिर निस्केको कल्पनाले बयानमा भनेको प्रहरीले बताएको छ । त्यसपछि कोठामा आएर टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर गएको पनि अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा प्रहरी जानकारी गराएको छ ।
बोहराको मृत शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाँडीबाट पक्राउ परेकी थिइन् । घटनाका बारेमा विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले बोहराको हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरेको छ ।