नेपालमा कोरोना : पछिल्लो २४ घण्टमा ५८१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २७ हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०१, कोरोना भाइरसका पछिल्लो २४ घण्टमा ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नौहजार ६४९ रहेका छन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिएकाछन्। हाल सम्म क्वारेन्टिनमा १५ हजार १५८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन्। अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन्। उनका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन्। यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ। यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन्। यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन्। आज मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन्। काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन्।उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन्। काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन्।

सोमबार तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौँका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।

प्रकाशित : 17 August, 2020

प्रतिक्रिया दिनुहोस्