नेपालमा कोरोना : उपत्यकामा २ सय ३२ जना सहित थप ८ सय ५५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ३३ हजार ५सय २३ पुग्यो
काठमाडौं । भाद्र –०९, नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मङ्गलबार भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मंगलबार मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरि उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएको बताएका हुन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने संख्या भने अहिले विस्तारै घट्दैगएको छ । हाल सङ्क्रमित निको हुने दर ५७ प्रतिशतमा झरेको मन्त्रालयले बताएकोछ ।मन्त्रालयका अनुसार हाल सम्म क्वारेन्टिनमा अहिले दश हजार ४५३ जना रहेका छन् ।पछिललो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।