जानकी मन्दिर दर्शनार्थीका लागि खुला
सहयात्रा टिभी
काठमाडौं । असोज–०७, कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीकोकारण लामो समयदेखि बन्द रहेको जनकपुरस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ । असोज १ गतेदेखि नै मन्दिर खुला गरिए पनि दर्शनार्थीको संख्या भने न्यून देखिएको छ । यसअघि कोरोना महामारीकै बीचमा एकपटक जानकी मन्दिर खुला गरिएको थियो, तर पछि स्थानीय प्रशासनले बन्द गराएको थियो ।
मन्दिर खुलेसँगै पूजा सामग्री तथा फलफूल मिठाईका पसल खुलेका छन् । कोरोनाका कारण भारतसँगको सीमानाका बन्द, सार्वजनिक यातायातका सवारीसाधन धेरै सञ्चालनमा नआएको तथा स्वदेशी तथा विदेशी धार्मिक पर्यटक उल्लेख्य संख्यामा नआएको स्थानीय बताउँछन् । यस्तै सर्वसाधारणका लागि मन्दिर बन्द गरिए पनि नियमित पूजापाठ भने हुँदै आएको थियो ।