प्रधानमन्त्रीका प्रेस सल्लाहकारको अभिव्यक्ति विवादमा

सहयात्रा टिभी

काठमाडौं । असोज–०७, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारको अभिव्यक्ति यतिवेला विवादमा परेको छ ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा प्रयोग गरेको शब्दावलीप्रति विरोध भइरहेको हो ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग राखेर भइरहेका प्रदर्शनसहितका विषयमा टिप्पणी गर्ने क्रममा थापाले प्रयोग गरेको शब्दप्रति विरोध भएको हो । कुलमान घिसिङलाई भगवान भन्न थाले त जनताले भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘भगवान होइन त उहाँ मानिस हो । तपाइँ मानिस हो, म मानिस हो । हाम्रो प्रधानमन्त्रीज्यू मानिस हो । कुलमानजी पनि मानिस हो । जनताले सडकमा उत्रिएर भगवान भने भनेर हामीले भगवान भन्छौँ त, भन्दैनौँ नि । मान्छे हो । हामी भगवानमाथि विश्वास गर्दैनौँ ।’ थापाको जवाफ सकिन नपाउँदै फेरि धमलाले प्रश्न गर्छन्, ‘हैन उहाँकै कारणले हाम्रो देशमा लोडसेडिङ अन्त्य भयो । वाहा–वाहा कुलमान घिसिङ भन्नेहरु छन् नि ? यसको रुखो जवाफ दिँदै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले भने– त्यसो भन्नेहरु पाखे हुन् । उहाँहरुको सन्तुलित विचार होइन। दृष्टिकोण होइन ।’ कुलमानका समर्थकलाई पाखे भनिएको भन्दै बुधबार बिहानैदेखि प्रधानमन्त्री ओलीका सल्लाहकार थापाको आलोचना भइरहेको छ ।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्