सबै धार्मिक क्षेत्र मंसिर १गते देखि खुल्ने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२३, सरकारले विगत ८ महिनादेखि बन्द धार्मिक क्षेत्र र धार्मिक क्षेत्रको गतिविधि१ मंसिरदेखि खुलाउने तयारी गरेको छ । सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको हो । कोरोना संक्रमणका कारण चैत ११देखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ,’ ‘१ मंसिरदेखि नै धार्मिक क्षेत्रहरू खुलाएर लैजान प्रस्ताव तयार पारिएको छ ।’पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।


प्रवक्ता भट्टराईले स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले अब धार्मिक क्षेत्र खुलाउने र धार्मिक पर्यटकसमेत भित्र्याउन पहल गर्नका लागि खोल्न प्रस्ताव गरिएको जानकारी दिएकाछन्। सरकारले मंसिरदेखि धार्मिक क्षेत्र खुलाएमा लुम्बिनीसहितका क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको गतिविधि बढ्नेछ । धार्मिक गतिविधि खुला भएमा मनकामना केबलकारसमेत सञ्चालनमा आउनेछ ।यता पशुपति क्षेत्रले मात्रै दैनिक लाखौँ आम्दानी गुमाएको भन्दै मापदण्ड अपनाएर दसैँ अगाडिदेखि नै खोल्न पहल गरेको थियो । नेपालमा पशुपति, मनकामनासहित मुक्तिनाथमा आन्तरिक र बाह्य दुवै पर्यटकहरूको घुइँचो लाग्ने गरेको थियो । धार्मिक क्षेत्र र सीमानाका बन्द हुँदा मानसरोवरमा भारतीय तिर्थालुसमेत जान रोकिएका छन् । नेपालबाट १ लाख ५० हजारभन्दा बढी भारतीयहरू मानसरोवर जाने गरेका थिए ।धार्मिक गुरुहरूले पछिल्लो समय सबै क्षेत्र खुलाउँदासमेत धार्मिक क्षेत्र बन्द राखेको भन्दै खुलाउन माग गर्दै आएका थिए । कोरोनाको जोखिम उच्च रहेको भन्दै नेपालीहरूका ठूला चाडपर्वमा समेत शक्तिपीठहरू सरकारले बन्द गरेको थियो ।

प्रकाशित : 8 November, 2020

प्रतिक्रिया दिनुहोस्