हिन्दुहरुको दोश्रो ठुलो महानपर्व तिहार आजबाट सुरु

काठमाडौं । कार्तिक–२७, यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व आजबाट सुरु हुँदै छ । तिथिअनुसार बिहीबार बेलुकी यमदीपदान आरम्भ गरिँदै छ ।नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले कागतिहार भने कात्तिक २८ गते शुक्रबार परेको जानकारी दिए ।
हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक सुरु हुन्छ । यमदीपदान गर्दा ‘यमयातना’बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेका छन् ।गौतमभन्छन् ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ ।समितिले तिथिको घटबढका कारण यस्तो भएको जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ ।समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको बताए।समितिका अनुसार गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार हुनेछ । आइतबार बिहान ११ :२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने बताइएको छ ।मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदामा सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।समितिले भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मंसिर १ गते नै गर्नुपर्ने जनाएको छ । मंसिर २ गते बिहान ७:४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन पञ्चांगकारले प्रकाशन गरेका तीन पात्रोले पनि मङ्सिर १ गते भाइटीका उल्लेख गरेका छन् ।समितिले मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउन हुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको जनाएको छ ।