खेर गइरहेको बिजुली प्रयोगरी नेपालमा हाइड्रोजन इन्धन उत्पादन गरिने

सहयात्रा टिभी

काठमाडौं । माघ २०, नेपालमा खेर गइरहेको बिजुली प्रयोगरी हाइड्रोजन इन्धन बनाउन लागिएको हो । नेपालका लागि हाइड्रोजन इन्धन नौला भएतापनि यूरोप तथा अमेरिकामा यसको परीक्षण उत्पादन तथा प्रयोग सुरु भइसकेको छ ।

नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू) को सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको बताईएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र ऊर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर हालै द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपाली र निगमका तर्फबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका हुन् ।

खेर जाने बिजुली किफायती मूल्यमा उपलब्ध भएको अवस्थामा १ किलो इन्धन ६ सय रुपैयाँमा उत्पादन गर्न सकिन्छ । इन्धनको अहिलेको मूल्यअनुसार प्रतिकिलो हाइड्रोजन इन्धन उत्पादन गर्न १ हजार ६ सय रुपैयाँसम्म लागत खर्च लाग्छ । हाइड्रोजन इलेक्ट्रोलाइजर भनिने मेसिन प्रयोग गरेर पानीबाट प्रशोधन गरिन्छ, जसले विद्युतीय प्रवाहको प्रयोगले पानीलाई यसको घटक, हाइड्रोजन र अक्सिजनमा विभाजित गर्दछ । नवीकरणीय ऊर्जा वा कार्बन मुक्त बिजुली स्रोतको प्रयोग गरी उत्पादित ग्यासमा कार्बन फुटप्रिन्ट शून्य हुन्छ, उक्त ग्यासलाई हरित हाइड्रोजन भनिन्छ ।

‘विद्युतबाट इन्धन उत्पादन गर्ने प्रविधिको विकासमा निगम र केयूबीच भएको द्विपक्षीय सम्झौता कोशेढुंगा साबित हुन्छ’, पौडेलले भने। उनका अनुसार माथिल्लो तामाकोसीलगायत जलविद्युत् परियोजनाबाट उत्पादन भएर खेर जाने विद्युत् प्रयोग गरी हाइड्रोजन इन्धन तयार पार्ने योजनालाई मूर्तरूप दिन लागिएको छ ।

सम्झौताअनुसार केयूको डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङतर्फको ग्रिन हाइड्रोजन ल्याबले निकट समयमै विद्युत् प्रयोग गरी हाइड्रोजन इन्धन उत्पादन गर्ने विषयमा डेमोस्ट्रेसन कार्यक्रम आयोजनासमेत गर्न लागेको छ । ल्याब टिम लिडर डा. विराज थापाका अनुसार यही फेब्रुअरी महिनामा इन्धन उत्पादन गर्ने सार्वजनिक कार्यक्रम आयोजना गर्न लागिएको छ । यो कार्यक्रमपछि विस्तारै उत्पादन योजनालाई कार्यान्वयनमा ल्याइने उनले बताए ।

 

 

 

 

 

प्रकाशित : 2 February, 2021

प्रतिक्रिया दिनुहोस्