बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना
काठमाडौं । माघ २६, मौसमविद्हरुले मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली भई शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो ।
मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।