पोस्टमार्टम गर्न लागिएका मृतक सडकको चौराहामा चिया पिउँदै गरेको भेटिएपछि हल्लाखल्ला

काठमाडौं । फाल्गुन १४, सडक दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको शव अस्पतालमा रहेकोथियो । शवको पोस्टमार्टम पनि गर्ने तयारी भइरहेको थियो । उसै बेला पोस्टमार्टम गर्न लागिएका मृतक सडकको चौराहामा चिया पिउँदै बसेको खबरले एकाएक हल्लाखल्ला मच्चायो । भारतको उत्तर प्रदेशको देवरियामा सो विचित्र घटना भएको हो । खासमा सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भयो । उनको सनाखतपछि पुलिसले उनको शवलाई पोस्टमार्टमका लागि पठायो ।
केही समयमै मृतक भनिएका व्यक्ति जीवितै भएको र उनले आफ्नो टोलको चौराहामा चिया पिउँदै गरेको खबर सार्वजनिक भयो । दुर्घटनामा घाइते भएका सो व्यक्तिलाई सिएचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए भने अस्पतालमै एक व्यक्तिले मृतकको पहिचान गर्दै उनी श्रीनगर गाउँका फुलेश्वर भएको पनि बताएका थिए । उनै व्यक्तिले गाउँमा फुलेश्वरको मृत्यु भएको खबर पठाए । तत्कालै फुलेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रुन थाले ।
पुलिसले शव पोस्टमार्टमका लागि पनि पठायो । गाउँमा फुलेश्वरको मृत्युको खबरले शोकको माहोल बन्न पुग्यो । गाउँमा अन्तिम संस्कारको तयारी सुरु भयो । यही क्रममा मृत्यु भएका भनिएका फुलेश्वर सडकछेउको चिया पसलमा चिया पिउँदै गरेका देखिए । एक व्यक्तिले फुलेश्वरलाई घटनाबारे बताए र तत्कालै भिडियो कल गरेर फुलेश्वरका छोरा रविन्द्रलाई पनि वास्तविकता बताएका थिए । फुलेश्वरका अनुसार उनी घरबाट औषधि किन्न निस्केका थिए र फर्किंदा पसलमा पसेर चिया पिउँदै गरेको भेटिए ।