अब नेपालमै क्यान्सरको उपचार हुने

काठमाडौं । फाल्गुन १७, अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।
निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले रासससँग भन्नुभयो, “अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध गराइरहेका छौँ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उहाँले बताउनुभयो । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने बताईएको छ ।
नेपालमा बर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । सत्तरी प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठीक उल्टो रहेको छ ।