महोत्तरीको मनराशिस्वामा ५ दर्जन नीलगाई फेला

काठमाडौं । फाल्गुन २०, महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
दर्जनौंको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वन क्षेत्रमा निलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका– २ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।