राष्ट्रपतिद्वारा महाशिवरात्रिको संकल्प गरीयो, पशुपतिनाथमा साधुसन्तको चहलपहल

काठमाडौं । फल्गुन २६, फाल्गुन कृष्ण एकादशीका दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री संकल्प गरेका छन्। प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले संकल्प गर्ने प्राचीनकालदेखिको विधि रहेको छ।
देशभरिका शिवालयमा महाशिवरात्रिको चहलपहल सुरु हुन्छ। राष्ट्रपतिले महाशिवरात्रिको संकल्प गरेसँगै मंलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको बताईएको छ। पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन्।
थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिने छ भने मंगलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको संकल्प गरेकी हुन्।
त्यसैगरी साधुसन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शङ्ख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेँलो वस्त्रसमेत संकल्प गरेको कार्यालय प्रमुख आचार्यले जनाए। संकल्पपछि गुठी गोश्वारा कार्यालय र पशुपतिनाथ अमालकोट कचहरीका कर्मचारीलाई राष्ट्रपति भण्डारीले टीका एवं प्रसाद लगाइदिएकी थिइन्। कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ। विशिष्ट साधुसन्त भने कम देखिएको बताईएको छ।