हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २८, हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ भने एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् । विद्युत आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ । विद्युत गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो गरे। दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताए ।

राति १० बजेपछि मात्रै विद्युत् आपूर्ति हुँदा विद्यालयमा दिएको गृहकार्य गर्न समस्या बनाएको मानसरोवर माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा एञ्जिला रोकायाले बताए । यस्तै जेठमा हुने एसइईको तयारी गरिरहेका छात्रछात्रालाई झन् समस्या बनाएको छ । हिल्दुम साना जलविद्युत आयोजनाको विद्युतका लागि पानीको स्रोत कम हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । उनले भने, “५०० किलोवाट विद्युत् उत्पादन गर्ने आयोजनाबाट हाल १४० देखि १५० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । यसले झन् समस्या परेको हो ।” वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० सेवाग्राहीलाई दैनिक एक मेगावाट विद्युत वितरण गर्नुपर्नेमा उत्पादनकै कमीले गर्दा लोडसेडिङ गर्नुको विकल्प नभएको उनले बताए ।

प्रकाशित : 12 March, 2021

प्रतिक्रिया दिनुहोस्