लोभलाग्दो कौशी खेती

काठमाडौं । फाल्गुन २९, सहर-बजारमा घर हुनेहरु सबैको करेसाबारी र खाली जग्गा नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहां गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै अब घरको छतमै मज्जाले कौशी खेती गरेर तरकारी फलाउन सकिन्छ ।
यसको उदाहरण बनेकी छन् रुपन्देहीको तिलोत्तमा-५ की सावित्रा भण्डारी । १० धुर क्षेत्रफलमा बनेको घरको छतमा उनले बजारबाट पोलिथिन ब्याग, गमला र विभिन्न प्रकारका क्यारेट ल्याएर तिनमा माटो र प्राङ्गगारिक मल भरेर घरको छतभरि तरकारी, फलफूल र बेमौसमी फूलले हरियाली बनाएकी छन् ।
छतभरि बन्दागोभी, फूल गोभी, गोलभेँडा, सिमी, खुर्सानी, रायो साग, भान्टा, लसुन,प्याज,कुरिलोलगायतका तरकारी लटरम्म फलेको देख्दा जो कोहीको मन लोभिन्छ । तरकारीसँगै उनले विभिन्न जातका फूल, मरौटी, घ्यूकुमारी जस्ता जडिबुटी पनि हुर्काउन भ्याएकी छन् । छतमै तरकारी फल्न थालेपछि सावित्रालाई ४ महिनादेखि हाटबजार गएर हरियो तरकारी किन्नु परेको छैन । सावित्राले छतमा चारसय क्यारेट र प्लास्टिकका झोला अटाएकी छन् । ‘घरलाई खान पुग्ने तरकारी फलेको छ, बजारबाट किन्नुुपरेको छैन,बरु आफन्तलाई बाँडेकी छु,’ उनले भनिन् ।