सल्यानमा आत्महत्या बढ्दो

काठमाडौं । चैत्र ०९, सल्यानमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार सल्यानमा सबैभन्दा बढी झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्ने गरेको पाइएको हो ।
जिल्लामा गत वर्ष २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएदेखि यो वर्ष ०७७ चैत ३ गतेसम्ममा आत्महत्याको प्रयास गरेका १ सय ४६ जनामध्ये ८० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक छ ।
आत्महत्याको प्रयास गरेका १ सय ४६ जनामध्ये ३६ जना पुरुषले झुण्डिएर आत्महत्याको प्रयास गरेका छन् । १७ जना महिलाले झुण्डिएर आत्महत्याको प्रयास गरेका छन् भने ३८ जना पुरुषले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका छन् । ५४ जना महिलाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
महिलाहरु पशुपालन र खेतिपातीका काममा लाग्ने र विषादीको पहुँचमा सजिलै पुग्ने भएकाले महिलाहरुले विष सेवन गर्ने गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए । झुण्डिएर आत्महत्या गर्नेको मृत्युदर संख्या सवैभन्दा बढी हुने थापाले बताए । झुण्डिएर आत्महत्या प्रयास गरेका ५३ जनामध्ये ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।
आत्महत्याको प्रयास गरेका ७४ जना पुरुष र ७२ जना महिला मध्ये ४८ जना पुरुष र ३२ जना महिला सहित ८० जनाको मृत्यु भएको हो । मृत्यु हुने मध्ये उमेर समूहको आधारमा १८ बर्ष मुनिका ९ जना, १८ देखि २५ बर्षसम्मका २० जना, २६ देखि ३५ बर्षका १७ जना, ३६ देखि ५० बर्षसम्मका २० जना र ५० बर्ष माथिका १४ जना छन् ।
त्यस्तै सामाजिक कारण ९गोपनियता भंग, बेइज्जती० असफल प्रेम सम्बन्ध, शैक्षिक असफलता, विवाहित महिलाको आत्महत्याको प्रमुख कारण श्रीमान्, घरेलु हिंसा, मादक पदार्थ सेवन, श्रीमान श्रीमतीबीचको भौतिक दूरी, वैदेशिक रोजगार, रकम हिनामिना, विवाहेत्तर सम्बन्धबारे गोपनियता भंग हुनु, महिलामाथि बारम्बार यौन दुव्र्यवहार, पहिले नै पटकपटक आत्महत्याको प्रयास गर्नु, अशान्त घर, तनावपूर्ण सम्बन्ध र इगो जस्ता कारणहरुले पनि आत्महत्याका घटनाहरु बढिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए ।
जिल्लामा बर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान भइरहेको थापाले बताए । उनले भने, ‘बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना वृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।