नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी निष्कासित

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए । उनका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसुर, लागूऔषधलगायत कसुरका धेरै रहेका छन् । विभागको तथ्याङ्कअनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ ।

आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ, जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो । आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७०० लाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ । यस्तैगरी ७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनालाई आश्रित भिसा जारी गरिएको छ । विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर रु ४२ करोड २६ लाख २९ हजार राजश्व सङ्कलन गरेको बताईएका छ ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्