म्याग्दीमा विदेशबाट आउने दश दिन क्वारेन्टिन बस्नुपर्ने

सहयात्रा टिभी

म्याग्दी । चैत १२, म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।

बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

उनका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

त्यसैगरी बेनी अस्पतालमा स्वास्थ्यजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक सङ्घसंस्थाले अनिवार्य साबुनपानीले हात धुने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाइ गरिने भएको छ ।

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्