काठमाडौंको आकाशमा तुवाँलो बढेपछि हवाइ उडानहरु प्रभावित

काठमाडौं । चैत्र १३, शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द बताईएको छ ।
उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’
भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएको उनले बताए । यस्तैगरी अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ रहेको छ ।