काभ्रेमा मिर्गौला तस्करी

काठमाडौं । चैत्र १७, ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब ३ वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गौला तस्करीका घटना बाहिर आएनन् ।
विसं २०७५ जेठ १० गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई तस्करले झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए । त्यसपछि जिल्लामा मिर्गौला तस्करहरु फेरि पनि सल्बलाएको आशङ्का गरियो । त्यसअघि विसं २०७१ फागुनमा नमोबुद्ध नपा–२ की दुई सन्तानकी एक ३५ वर्षीया गृहिणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्करमार्फत तीन लाखमा एउटा मिर्गौला बेचेको घटना बाहिरिएको थियो ।
घटनाक्रमका तथ्याङ्कले करिब दुई वर्ष १० महिनासम्मको अवधिमा मिर्गौला तस्करीको घटना घटेको पाइएन । “तस्करीका घटना बाहिर नआएको पनि हुनसक्छ, कोरोना सन्त्रासबीच मिर्गौला दिने र प्रत्यारोपणकर्ताको स्वास्थ्य संवेदनशीलताले नभएको पनि हुनसक्छ”, पिपीआरका निर्देशक शतिस शर्माले भने ।
घटना विवरणअनुसार काभ्रेपलाञ्चोकको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २५ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एकै परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । त्यसपछिका केही वर्षमा मिर्गौला झिकेपछि शल्यक्रिया गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका अर्थावस्था कमजोर भएका परिवारलाई मिर्गौला बिक्री गराउन तस्करले थप हौस्याएको तथ्यसमेत खुलेको थियो ।
दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेची छिमेकी र आफन्तले घृणा गर्ने डरले आफ्नो पीडा लुकाउँदै आएका जिल्लाका पुरुष पछिल्ला केही वर्षदेखि समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । भारतको दिल्लीमा नोकरीको लोभमा परी २१ वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नपा–२ का नवराज मिजारले भने, “हामी चिरेको पेट छोपेर नुहाउने गथ्र्यौँ, तर मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।” कानूनमा मिर्गौला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ । गैरकानूनीरूपमा मिर्गौला बिक्री गराए मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र दुई देखि पाँच लाखसम्म जरिवाना र सजाय हुनेछ ।