फिफा विश्वकप छनौट अन्तर्गत रोनाल्डोको गोलमा पोर्चुगल विजयी

काठमाडौं । चैत्र १८, फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले जित निकालेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
पोर्चुगलले लक्जेम्बर्गमाथि सुरुवाती अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो। खेलको ३० औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १–० को अग्रता दिलाएका थिए।
तर, उक्त खेलको ४५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १–१ को बराबरीमा ल्याए। खेलको ५१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगल २–१ ले अघि रह्यो । पोर्चुगलका लागि उनको यो १ सय ३ औं गोल हो।
त्यसपछि खेलको ८० औं मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए। खेलको ८७ औं मिनेटमा म्याक्सिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो भने जितसँगै समूह ‘ए’ को पोर्चुगलले ३ खेलमा ७ अंक जोडेको छ। पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।